बासुदेब बर्मा/विवेक खड्का (ईमेज)
कपिलवस्तु/ दाङ। अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ ।
गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन् ।
शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो ।
आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।
उता दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।
अज्ञात समूहले आगो लगाउँदा रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्