Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संसद भवन निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन


0
Shares

काठमाडौं, मंसिर ३० । संघीय संसदको विकास तथा प्रविधि समितिले संघीय संसद भवनको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्न कार्ययोजना बनाई कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्माणाधीन संघीय संसदको नयाँ भवन निर्माण कार्यको भौतिक प्रगति सन्तोषजनक नदेखिएको भन्दै नयाँ कार्ययोजना बनाई निर्धारित मितिमा सम्पन्न गर्न निर्देशन दिएको समिति सदस्य गणेशकुमार पहाडीले जानकारी दिनुभयो ।

समिति बैठकले भूकम्पबाट क्षतिग्रस्त भएको पुरानो प्रतिनिधिसभाको ग्यालरी बैठकको ऐतिहासिक मौलिकता र पहिचान कायम हुनेगरी पुनःनिर्माणको काम अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, भौगोलिक दृष्टिकोणले जोखिममा रहेका घर तथा बस्तीहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतका कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न, केही गाउँपालिका नगरपालिकाभन्दा समृद्ध रहेकाले त्यस्ता गाउँपालिकाको नयाँ भौतिक संरचना निर्माणका लागि विद्यमान नियमावली निर्देशिका र कार्यविधिमा सुधार गर्ने व्यवस्था मिलाउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।