
काठमाडौं, साउन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले इतिहासबाट मिल्काइएका शक्तिका वाहकले पुनःस्थापनाको सपना देखेको बताएका छन् ।
शनिबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि हटाइएका शक्तिलाई पुनः सत्तामा ल्याउन गतिविधि भएपनि विश्वमा इतिहास उल्टिएको घटना नरहेको बताए ।
उनले प्रतिगमनले टाउको उठाउन नपाओस् भन्नकै लागि पार्टी एकीकरण गरिएकोसमेत बताए ।
पार्टी एकीकरण प्रक्रियामा केही ढिलाइ भएपनि संगठनहरुको एकीकरण प्रक्रिया प्राथमिकताका साथ अघि बढिरहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले हालसम्मकै प्रगतिशील संविधान निर्माण हुनु गर्वको विषय भएको भन्दै कार्यान्वयनमा भने चुनौती रहेको विचार व्यक्त गरे ।
नेपालले विश्वलाई समाजवादको नयाँ ‘मोडेल’ प्रदान गर्न सक्षम हुने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्