
नारायण ढुंगाना (रासस)
काठमाडौं, साउन २५ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निकै तनावमा थिए ।
अपरिचित व्यक्तिबाट फोनमार्फत् रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो ।
त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्किएका थिएनन् । काठमाडौंस्थित घरमा बस्थे ।
खड्काले रासससँग भने–‘यति बजे तँ घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस् । तैले यस्तो कपडा लगाएको छस् । एकपटकलाई केही नगरौं भनेर छाडेका हौं र आज तँ बाँचिस् । सधैं यस्तो हुन्न भनेर भन्यो ।’
‘मैले जे गतिविधि गरिरहेको हुन्छु, त्यो सबै फोनबाट भन्थ्यो । यस्तो भएपछि कसलार्ई डर लाग्दैन ?’ उनले थपे ।
विक्षिप्त मन लिएर बस्दै गर्दा एकाएक शुक्रबार उनलाई प्रहरीबाट फोन आयो–‘ल तपाइँलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौं । ट्रमा सेन्टरमा राखिएको छ ।’
आफूलाई पैसा मागेर मार्ने भन्दै दिनहुँ धम्की दिएर सताइरहने व्यक्ति पक्राउ परेको खबरले उनी खुसी हुँदै ट्रमा सेन्टरमा गए ।
जब त्यो व्यक्तिलाई देखे, त्यसपछि उनी छाँगाबाट खसेजस्तै भए । आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर, उनले लोप्साङ र मिलनको नामसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
खड्काको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–१५, स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेलापारेको थियो ।
नियन्त्रणमा लिनेक्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खड्काकाअनुसार उनले रु दुई करोडको माग गर्दै पैसा नदिए परिवारकै अपहरण गरेर मार्ने धम्की तारन्तार दिएका थिए । यो कुरा फोन रेकर्डमासमेत छ ।
‘कुराकानीकाक्रममा अहिले किस्तामा रु ५० लाख दिए हुन्छ । बाँकी विस्तारै दिनुहोला भनेको थियो । यति गरेपछि गाउँपालिकाको विवाद सल्टिने कुरासमेत फोनमै भनेको थियो’–उनले भने ।
गाउँपालिका अध्यक्ष खड्काले गत वैशाखमा वडा नम्बर–७ का वडाध्यक्ष सुवास बोहरासँग गाउँपालिकाको सभामा विवाद भएको कुरा बताए । सो बेला बोहराकै पक्ष लिनेमध्येका एक बाबुराम रहेको उनको भनाइ छ । उनी वडाध्यक्ष सुवास बोहराका छिमेकीसमेत हुन् ।
बोहरालेसमेत बाबुराम आफूले चिनेको आफ्नै वडाको भएको रासससँग बताए ।
त्यही विवादबाट सुरु भएको घटना यहाँसम्म आइपुगेको दाबी खड्काको छ । वडाध्यक्ष बोहराले भने खड्काको आरोप अस्वीकार गरेका छन् ।
‘फोनको धम्की र पैसाको ‘बार्गेनिङ’ चल्दै गयो । मैले ३० लाखसम्म दिने बताएँ । तर, उसले अडान छाडेको थिएन । पैसा दिनका लागि नेपालगन्ज या कोहलपुर आउन भनेको थियो’–खड्काले भने–‘रातिराति फोन आउने, धम्की दिने र परिवारकोसमेत अपहरण गर्ने धक्की आउन छाडेन । परिवारै पीडामा थियो ।’
‘साउन १८ गते पनि त्यस्तै फोन आएको थियो । उसले विगतझैं धम्की दिन छाडेन । यही साउन २० गते फेरि वडाध्यक्ष सुवास बोहराको नाम लिएर रु दुई करोडको व्यवस्था गर्नोस्, त्यसपछि गाउँपालिकामा जाने वातावरण बन्छ भनेर धम्की दिएको’ उनले सुनाए ।
अति भएपछि उनले साउन २१ गतेबाट भने सबै वार्तालापको अभिलेख राख्न सुरु गरेका थिए । त्यो अभिलेखको विवरण पेनड्राइभमै हालेर उनले महानगरीय अपराध महाशाखालाई बुझाएका छन् ।
‘आर्थिक सहायता गर्ने भए गाउँपालिकाको विवाद सबै मिलाउँछौं भनेर धम्की आउन छाडेको थिएन । पैसा नदिने भए मार्छाैं भनेपछि असह्य पीडा भयो । लगत्तै गृहसचिव प्रेमकुमार राईमार्फत् घटना प्रहरीकहाँ पुग्यो ।’
त्यसपछि खड्काले प्रहरीमा उजुरी दिए । त्यही उजुरीको आधारमा विगत २२ गतेदेखि महानगरीय अपराध महाशाखाले धम्की दिनेको खोजी थालेको थियो ।
गाउँपालिका–७ का वडाध्यक्ष सुवास बोहराकै कारण आफूलाई धम्की आएको दाबी खड्काको छ ।
वैशाख १३ को गाउँसभामासमेत बोहरासँग ठूलै विवाद निस्किएको उनले बताए ।
उनले भने–‘मलाई धेरै ठाउँबाट मिल्न दबाब आएको छ । म अडिग छु, अपराधीलाई कारबाही गर्नुपर्छ ।’
वडाध्यक्ष सुवास बोहराले गाउँपालिकाको विद्युतीकरण विषयमा विवाद हुँदा आफूलाई ‘मिटिङ’बाट निकालेको र त्यसपछि अध्यक्षसँग सम्पर्क नै नभएको जिकिर गरेका छन् ।
उक्त घटनाको विषयमा बोल्दै बोहराले भने–‘विवाद भएको चाहिँ दुई महिना भइसक्यो । तर, पक्राउ परेका व्यक्तिसँग साठगाँठ भनेर जसरी आरोप लगाइएको छ, उनीहरुसँग बोलचाल, साठगाँठ मेरो केही छैन ।’
उनले शुक्रबारै विज्ञप्ति जारी गरी घटनामा आफ्नो संलग्नताको खन्डन गरेका छन् ।
बाबुराम तामाङ आफ्नै वडाका व्यक्ति भएको बताउँदै उनले आफूलाई फसाउन गलत आरोप लगाइएको दाबी गरे ।
‘आरोप पुष्टि गर्न भन्दै मैले विज्ञप्ति जारी गरेको छु । उनलाई धम्की कसरी गयो, मलाई थाहा छैन’–वडाध्यक्ष बोहराले भने ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले पक्राउ परेका बाबुरामले लिखु हाइड्रोपावरबाट रु २० लाख र विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको भन्दै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले आफूहरुले आपराधिक पाटोलाईमात्रै हेर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्