काठमाडौं, साउन २४ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एसिया दोस्रो चरण छनोटअन्तर्गत् नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ ।
कुवेतविरुद्धको नेपालको ‘होम’ खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको प्रस्तावमा कुवेत फुटबल संघले शुक्रबार स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ ।
नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुनेछ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको पुनःनिर्माण कार्य सम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो ।
त्यस्तै, कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ । एन्फाकाअनुसार नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल आगामी मंसिर ३ गते दशरथ रंगशालामा हुनेछ ।
यसअघि, विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालको ‘होम एन्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र ‘न्युट्रल भेन्यु’ खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलिया, रहेका छन् ।
नेपालले चाइनिज ताइपेइसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रंगशालामा खेल्नेछ ।
त्यस्तै, नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले वि.सं. २०७७ जेठ २१ गते दशरथ रंगशालामा खेल्ने तय भएको छ ।
त्यसबाहेक नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रंगशालामा खेल्नेछ ।
उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।
छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथू, विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन् ।
त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन् ।
स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुव श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र भरत खवास छन् । रासस








प्रतिक्रिया दिनुहोस्