Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


काम नै सुरु नभई भुक्तानी !


0
Shares

कञ्चनपुर, साउन २४ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय महेन्द्रनगरले योजनाको काम नै नभई भुक्तानी दिएको पाइएको छ ।

जलस्रोत तथा सिंचाई कार्यालयले कमिशनको खेलमा लालझाँडी गाउँपालिका–६ मा स्यालो ट्युबेल निर्माणको काम नै सुरु नभई भुक्तानी दिएको पाइएको हो । वैशाखको पहिलो साता उपभोक्ता समिति गठन गरे पनि कार्यालयले समयमै सामाग्री नपठाएकाले योजना सम्पन्न गर्न नसिकएको हरियाली जल उपभोक्ता समितिका अध्यक्ष गोपी चन्दले बताए । उनका अनुसार सिँचाई विकास डिभिजन कार्यालयले असार २० गते उपभोक्ता समितिसँग सम्झौता गरि २६ गतेमात्रै स्यालो ट्युबेल निर्माणका लागि आवश्यक सामाग्री पठाएको थियो ।

उपभोक्ता समितिले नै सामाग्री खरिद गरि योजना सम्पन्न गर्नुपर्ने भए पनि कार्यालयले बजार मूल्यभन्दा बढी दरमा खरिद गरि आफूहरुलाई बिलसहित निर्माण सामाग्री पठाएको उपभोक्ता समितिको गुनासो छ ।

यता, वडा कार्यालयले समेत योजना सम्पन्न नहुँदै फर्छ्यौटका लागि सिफारिस गरेको देखिएको छ । उपभोक्ताले आफूहरुले जसरी पनि योजना सम्पन्न गर्ने प्रतिबद्धतासहितको निवेदन दिएकाले व्यवहारिकताका हिसावले सिफारिस गरिएको लालझाँडी गाउँपालिका–६का वडा अध्यक्ष फुलाराम चौधरीले बताए ।

लालझाँडी गाउँपालिका ६ मा स्यालो ट्युबेल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेकोे थियो । १० वटा उपभोक्ता समितिमार्फत काम हुनुपर्ने भए पनि सिंचाई डिभिजन कार्यालयले कमिशनकै लागि असारको अन्त्यमा ३ वटा उपभोक्ता समितिसँग सम्झौता गरी रकम फर्छ्यौट गरेको छ ।

यसैबीच, सम्झौताका लागि उपभोक्ता समिति नै समयमा नआएको भन्दै उपभोक्ताबाटै कोटेशन मगाएर न्यून मूल्यमा निर्माण सामाग्री उपलब्ध गराएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले दावी गरेको छ ।