
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)
भक्तपुर, साउन २३ । इन्जिनियरिङ शिक्षामा महत्वपूर्ण योगदान पुर्याउन सफल भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजले हालसम्म १७ सय जनशक्ति उत्पादन गरिसकेको छ ।
भक्तपुर नगरपालिकाले स्थापना गरेको इन्जिनियरिङ कलेजले भक्तपुर जिल्लालाई नै इन्जिनियरिङ ‘हब’कारुपमा नै विकास गराउन सफल भएको छ ।
भक्तपुरको लिवालीमा २५ रोपनी जमिनमा फैलिएको ख्वप इन्जिनियरिङ कलेज देख्दा जो–कोहीलाई नि लाग्नसक्छ, कलेज होस् त यस्तो !
मौलिक शैलीमा निर्माण भएको भवन, सफा र शान्त वातावरण । बाहिरी बनोट जति राम्रो छ, कलेजले इन्जिनियरिङ क्षेत्रमा निकै उत्कृष्ट शिक्षा दिन सफल भइसकेको छ ।
२०५६ सालमा ख्वप उच्च माध्यमिक विद्यालय स्थापनापछि भक्तपुर नगरपालिकाले सुरु गरेको यो अभियान २०५८ सालमा भने इन्जिनियरिङ शिक्षा दिने उद्देश्यअनुरुप आर्किटेक्चर र सिभिल इन्जिनियरिङ पढाउन सुरु गरियो ।
इन्जिनियरिङ शिक्षामा विद्यार्थीको चाप बढ्दै गएपछि कप्युटर र इलेक्ट्रोनिक इन्जिनियरिङसमेत पढाउन सुरु गरियो ।
२०६४ सालदेखि आफ्नै आयस्रोतबाट कलेज सन्चालन भइरहेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त इन्जिनियरिङ कलेजले २०६५ सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिइ इलेक्ट्रोनिक्स, सिभिल र कप्युटर इन्जिनियरिङका कक्षाहरु सन्चालन गरिरहेको छ ।
कलेजले नेपालमा नै पहिलोपटक भूकम्पसम्बन्धी इन्जिनियरिङ र सहरी योजना तथा संरक्षणसम्बन्धी पठनपाठनमा स्नातकोत्तर तहमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख सुजन मकाले जानकारी दिए ।
हालसम्म मनाङबाहेक नेपालका सबै जिल्लाका विद्यार्थी अध्ययन गरिसकेको कलेजमा हाल ६४ जिल्लाका एक हजार विद्यार्थी अध्ययनरत् छन् ।
भक्तपुर जिल्लाका ३० प्रतिशत र बाहिर जिल्लाका २५ प्रतिशत, ५ प्रतिशत दुर्गम जिल्लाका विद्यार्थी र बाँकी कोटामा खुला प्रतिस्पर्धा गराएर कोटा निर्धारण गरिएको क्याम्पस प्रमुख मकाले जानकारी दिए ।
कलेजले गरिब र जेहेन्दार २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
गुणस्तरमा कहिले पनि सम्झौता नगरेका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै मकाले कम आयस्रोत भएका सर्वसाधारणका छोरा–छोरीले पढ्नसक्ने शुल्क निर्धारण गरेको बताउँछन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलकाअनुसार नेपालमा ५२ ओटा इन्जिनियरिङ कलेज छन् । जसको क्षमता वार्षिक झन्डै ११ हजार पढाउनसक्ने रहेको छ । तर, राम्रो इन्जिनियरिङ शिक्षा दिने कलेजको संख्या भने निकै छ ।
प्रतिक्रिया दिनुहोस्