ज्यानको प्रवाह नगरी हिउँमा सिमा गस्ती « Image Khabar


ज्यानको प्रवाह नगरी हिउँमा सिमा गस्ती


Imagekhabar
२६ मंसिर २०७७, शुक्रबार ०८:०७

हुम्ला । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ ।

हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।

केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताउनुभयो ।

उहाँको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ ।

इन्चार्ज केसीले भन्नुभयो, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।”

यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताउनुभयो ।

चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ ।

पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उहाँले बताउनुभयो ।

सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उहाँले बताउनुभयो ।

हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्