Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कारवाही गरः जवाफदेहीता निगरानी समिति


0
Shares

काठमाडौं, मंसिर २५ । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारवाही गर्न जवाफदेहीता निगरानी समितिले माग गरेको छ ।

गत मंगलबार मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । हत्याके जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएके छ ।

समितिका तर्फबाट समितिका संयोजक चरण प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल निश्पक्ष अनुसन्धान गर्न र नागरिकको बाँच्न पाउने अधिकार रक्षा गर्न सरकार समक्ष आग्रह गर्दछ । पीडकहरूलाई न्यायको दायरामा ल्याउन तथा पीडित परिवारका लागि सुरक्षा, न्याय तथा क्षतिपूर्तिको अधिकार सुनिश्चित गर्न माग गर्दछ ।’

संविधानको धाराा १६ ले प्रत्याभूत गरेको मर्यादापूर्वक बाँच्न पाउने आधारभूत अधिकार र नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा ६ ले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार तथा अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजहरूको प्रतिकूल रहेको समितिको ठहर छ ।

नेपालमा दश वर्ष चलेको सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार हननका घटनामा शान्ति सम्झौता भएको १४ बर्ष बितिसक्दा पनि दण्डहीनता कायमै रहँदा यस्ता जघन्य प्रकृतिका मानवअधिकार उल्लंघनका घटनाहरु अहिले पनि घटिरहेको जवाफदेहिता निगरानी समितिको ठहर छ ।

यस प्रकृतिको जघन्य अपराध कुनै पनि बहानामा जायज ठहर्दैन भन्ने पनि समितिले प्रष्ट गरेको छ ।

समितिले चन्द नेतृत्वको कम्युनिस्ट पार्टीलाई हिंसाको राजनीति त्यागी वार्ताको माध्यमद्वारा असन्तुष्टिहरूलाई समाधान गर्न पनि आग्रह गरेको छ ।