स्वागतयोग्य विज्ञापन नीति बनाउन सञ्चारमन्त्रीको निर्देशन « Image Khabar


स्वागतयोग्य विज्ञापन नीति बनाउन सञ्चारमन्त्रीको निर्देशन


रासस
२४ मंसिर २०७७, बुधबार १७:५५

काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।

विज्ञापन बोर्ड कार्यालयको बुधबार उद्घाटन गर्दै उहाँले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाउनुभयो ।

यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो ।

बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा रहनुभएको छ भने सदस्यमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने, बन्दना दनुवार र जानुका सुवेदी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्