
सर्लाही । सर्लाहीका बाढी पीडितले तीन साता बितिसक्दासमेत अझै राहत पाउन सकेका छैनन् ।
डुबानले घर भत्केकाहरु सरकारी राहतको आशामा बसे पनि अझै उनीहरुले राहत पाउन नसकेका हुन् ।
सरकारी स्तरबाट भने पीडितलाई राहत त परै जाओस् क्षतिको विस्तृत तथ्यांक संकलनसमेत सम्पन्न हुन सकेको छैन ।
गत साउन ३ गते विपद् व्यवस्थापन समितिको बैठकले घर, बालिनालीलगायत विस्तृत सर्भे गर्ने भन्दै तथ्यांक संकलनका लागि ३२ वटा टोली गठन गरेको थियो ।
तर टोली गठन भएको ३ साता बितिसक्दा ११ वटा स्थानीय तहको मात्र विस्तृत सर्भे विवरण संकलन भएको छ ।
२० वटा स्थानीय तहमध्ये हालसम्म हरिपुर, बागमती, मलंगवा, लालबन्दी, हरिवन, कविलासी, ईश्वरपुर नगरपालिका तथा रामनगर, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकाको मात्र तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
बाढी एवं डुबानबाट सबैभन्दा बढी क्षति पुगेको धनकौल, बसबरिया गाउँपालिका एवं बलरा नगरपालिकासहित विष्णु, कौडेना र चक्रघट्टा गाउँपालिका तथा गोडैता, बरहथवा र हरिपूर्वा नगरपालिकाको तथ्यांक आउन सकेको छैन ।
सर्लाहीमा बाढी एवं डुबानालले २४ सय घरमा पूर्ण क्षति भई १२ हजार ८४ जना सर्वसाधारण विस्थापित भएका थिए ।
यस्तै ५ हजार ५ सय घरमा आंशिक क्षति पुगेको विवरण स्थानीय प्रहरी प्रशासनले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्