
जाजरकोट, साउन ४ । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६, गर्खाकोट–छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् ।
प्रहरीकाअनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।
घरमुली भक्तबहादुर बुढा, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् ।
घाइतेमध्ये अरुको अवस्था सामान्य भएपनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।
मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रबार गएको प्रहरी टोलीले चार घन्टा लगाएर दिउँसो १ः३० बजेमात्र मृतकको उद्धार गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्