काठमाडौं, साउन २१ । प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिँदै सांसदले कटाक्ष गरेका छन् ।
मन्त्री पुन र घिसिङलाई श्री ३ महाराजको संज्ञा दिने सांसद हुन्, जुम्लाका गजेन्द्र बहादुर महत । जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै आक्रोशित महतले यस्तो संज्ञा दिएका हुन् ।
जुम्ला सदरमुकाम अन्धकार रहेको भन्दै महतले ‘यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन गर्यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’ हुन् भने ।
फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै महतले, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने’ ? के विद्युत प्राधिकरण छैन ? नेपालमा जुम्ला जिल्ला भन्ने छैन ?’
२०३८ सालमा स्थापित २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रँदा जुम्ला अन्धकारमा बस्न बाध्य भएको भन्दै सांसद महतले भने, ‘हामीले यति प्रगति गर्यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन् । कृपया जुम्लालाई बेचिदिनिुस्, तपाईहरुसँग कति बिजुली छ, हामीलाई बेचिदिनुस् ।’
दुबैले कमिशनका लागि काम गरिरहेको अराोप लगाउँदै महतले भने ‘यिनीहरुले जहाँबाट कमिसन आउँछ त्यहीँमात्र बिजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ, आज विश्वास लागेको छ ।’
बिजुली नभएकैले जुम्लामा मोवाइल फोन चलाउन समस्या भएको दुःखेसो उनको थियो ।








प्रतिक्रिया दिनुहोस्