
हेटौंडा, साउन २० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अटोरिक्सामा गाँजा ओसारपसार गर्ने गिरोहका तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
गाँजा ओसारपसारको आरोपमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८, देवकोटका जीवन मोक्तान, पर्साको वीरगन्ज महानगरपालिका–१०, रानीघाटका राजेश पेटल र सोही स्थान बस्ने मुन्ना अन्सारीलाई सार्वजनिक गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा चेकजाँच गर्नेक्रममा ना१ह ९७४६ नम्बरको अटोरिक्सामा झन्डै १५ केजी गाँजा प्रहरीले फेलापारेको थियो ।
टेम्पोको सिटमुनि र छतमा पोका बनाइ लुकाएर हिँडेको अवस्थामा गाँजा भेटिएको जनाइएको छ ।
यसैगरी, प्रहरीले गएको वैशाख ६ गते हेटौंडामा भारतीय गाडी र ४८ केजी ८०० ग्राम अवैध गाँजासहित पक्राउ परेका भारत, बिहार, पटना बस्ने प्रवल अग्निवेशलाई पनि सार्वजनिक गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्