निर्विकल्प निजगढ विमानस्थल, काम अघि बढ्यो « Image Khabar


निर्विकल्प निजगढ विमानस्थल, काम अघि बढ्यो


सिवी अधिकारी (रासस)
१८ मंसिर २०७७, बिहीबार १६:२६

काठमाडौं, मंसिर १८ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया सुरु त भयो तर, विवादरहित भने हुनसकेन ।

झन्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो ।

मुलुकको गौरव र समृद्धिसँग जोडिएको निजगढ विमानस्थल निर्माणले गति लिने संकेतसँगै अवरोधका आवाज भने बढिरहे ।

विशेषगरी वातावरणसँग जोडिएका विषयहरु नागरिकका तर्फबाट बढी तरंगि भएका हुन् ।

विमानस्थल निर्माणका लागि रुख कटानको विषयमा सुरुमै विवाद उत्पन्न भयो । आयोजनाले प्रारम्भिक काम सुरु गर्नुअघि नै रुख कटानको विषयलाई लिएर बहस चुलियो । केही वातावरणविद्ले उक्त बहसलाई जोडबलले उठाइदिए ।

विमानस्थल निर्माण कसैको इच्छा र चाहनाका लागि नभइ देशको आवश्यकता र राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो भन्ने पक्षबाट सुरुमै कुराको उठान हुनसकेन । बरु, बढी मात्रामा विवाद उत्पन्न गर्ने काममात्र भयो ।

वातावरणीय क्षति कमभन्दा कम गरेर भएपनि विमानस्थल बन्नुको विकल्प छैन भन्ने विषय अहिले आएर भने महसुस भएको छ । यसरी अहिले आएर निजगढ विमानस्थल अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय बनेको छ ।

कस्ता छन्, अन्तर्राष्ट्रिय अभ्यास ?
संसारका विमानस्थल कतिपय वन फँडानी, पहाड फोरेर, बस्ती मासेर र समुद्र पुरेरसमेत बनाइएका उदाहरण छन् ।

पछिल्लो उदाहरणकै रुपमा हेर्ने हो भने टर्कीमा बन्न लागेको ‘इस्तनबुल न्यू एअरपोर्ट’मा पनि सुरुमा हाम्रोजस्तै विवाद उब्जिएको थियो । विश्वकै ठूलो दाबी गरिएको यो विमानस्थल बनाउन २५ लाख रुख काट्नुपर्ने थियो ।

सुरुमा वातावरणसँग सम्बन्धित प्रश्न उठाइएपनि पछि भने रुख कटान गरेर निर्माणको काम थालिएको छ ।

छिमेकी मुलुक भारतको मुम्बईमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘नाभी इन्टरनेसनल एअरपोर्ट’ बन्दैछ । उक्त विमानस्थल निर्माणको काम थाल्ने भनेपछि सन् १९९७ देखि नै विवाद सुरु भएको थियो ।

लामो समयको विवादपछि तीन वर्षअघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

सो विमानस्थल निर्माणका लागि एउटा डाँडो पूरै सम्याउनुपर्ने र नदी फर्काएर सिमसार क्षेत्र छोप्नुपर्नेछ ।

त्यस्तै, माल्दिभ्सले समुद्र पुरेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ ।

हङकङले अहिले विमानस्थल विस्तारका लागि समुद्र पुरेर खर्बौं डलर खर्चेर नयाँ धावनमार्ग बनाउँदैछ ।

थाइल्यान्डको बैंककमा पनि सिमसार मिचेर विमानस्थल बनाइएको हो ।

जापानको ओसाका विमानस्थल निर्माण गर्दा कान्साइको एउटा पूरै पहाड काटेर समुद्र पुरेर पहाडमा बस्ती बनाइएको छ ।

नेपालको सन्दर्भमा निजगढ विमानस्थलले केही जंगललाई असर गर्ने हो । तर, हल्ला गरेजस्तो पहाडै खस्ने, प्रलय हुने होइन । विमानस्थलका लागि आवश्यक पर्नेमात्र रुख कटानी हो ।

करिब २४ लाख रुख काट्ने र वातावरण ध्वस्त हुने भन्ने तर्क असान्दर्भिक हो ।

पूर्वाधारविद् डा. सूर्यराज आचार्यको भनाइमा संसारका कुनैपनि विमानस्थलले या प्राकृतिक प्रभाव या त सहरको सामाजिक असर पारेकै हुन्छ ।

विमानस्थलजस्तो अन्तर्राष्ट्रिय प्रवेशमार्ग त्यसैपनि राष्ट्रिय प्राथमिकतामा पर्छ । वातावरणीय प्रभावमा कसरी कमभन्दा कम क्षति गर्ने भन्ने नै हो । अरु देशका उदाहरण हेर्दा जंगल या समुद्र मिचेर विमानस्थल बनाएका छन् ।

‘निजगढको वातावरणीय हल्ला असान्दर्भिक हो । त्यसैले विकास र वातावरणको चासो भनेको निजगढलाई तारो बनाउने होइन । ठिक ठाउँमा जंगल संरक्षणको बहस चलाउनुपर्छ । तर, अहिले निजगढको सन्दर्भमा जुन ढंगले बहस चलाइयो, असान्दर्भिक छ’–पूर्वाधारविद् आचार्यले भन्नुभयो ।

विमानस्थल निर्माणको सन्दर्भमा वातावरणीय सवाल आउनु अस्वाभाविक होइन । विकास र वातावरणको सन्तुलन कायम हुनुपर्छ । वातावरण संरक्षणमा हाम्रो स्वार्थलाई प्राथमिकतामा राखेर बहस हुनुपर्छ ।

आचार्यले भन्नुभयो–‘विदेशीको आँखामा दक्षिण एसियाकै उत्कृष्ट बन्ने भनेका छन् । तर, देशभित्रकै विकासविरोधीले भड्काउन खोजेका छन् । म एक इन्जिनियरको नाताले भन्छु, विमानस्थल र द्रुतमार्ग ३० वर्षअघि नै बन्नुपर्ने थियो ।’

विज्ञको विचारमा लोकतन्त्रमा आवाज उठ्नु स्वाभाविक हो । तर, सबै कुरा सरकारले मान्नुपर्छ, रुखै काट्नु हुन्न भन्ने होइन ।

राष्ट्रिय स्वार्थका मुद्दा बोकेर अन्तर्राष्ट्रिय जगत्मा भ्रम सिर्जना गर्ने काम भइरहेको उनीहरुको तर्क छ ।

वि.सं. २०५० मा सरकारले राष्ट्रिय हवाई नीति जारी गर्‍यो । त्यसलाई २०६३ मा पुनर्लेखन गरी नयाँ हवाई नीति आयो । नीतिका छ उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्ने उल्लेख छ ।

कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदन्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ ।

त्यसैले ‘वि.सं. २०५० देखि सुरु भएको अभ्यास अहिले २७ वर्षपछि विकास र विवादको बहस बन्नु दुःखद् पक्ष हो’–भन्नुहुन्छ, क्यानका पूर्वमहानिर्देशक त्रिरन्त मानन्धर ।

नेपाली तथा विदेशी प्राविधिक विज्ञले विभिन्न स्थानको अवलोकन गरी निजगढलाई उपयुक्त ठहर गरेको र सोहीअनुरुप नेपाल सरकारले पनि विभिन्न प्रक्रिया अघि बढाइसकेको छ ।

उहाँले भन्नुभयो–‘वातावरणसम्बन्धी कुरालाई सम्बोधन गर्नुपर्छ । त्यसका लागि ईआइएको रिपोर्टलाई आत्मसात् गर्नेपर्छ । तर, विकास नै अवरोध गरिनुहुन्न ।’

निजगढ विमानस्थल विमानस्थलको रूपमा मात्रै यसको महत्व होइन, नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्नेे महत्व छ ।

‘नेपाल अहिलेपनि अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट अलग्गिएको छ । कहिलेसम्म नयाँदिल्ली, थाइल्यान्डको बैंकक र मध्यवर्ती मुलुकमा मात्र केन्द्रित हुने ? हामीले पनि युरोप, अमेरिकादेखि लामो दूरीको उडान गर्नुपर्ने जरुरी छ’–पूर्वमहानिर्देशक मानन्धरले भन्नुभयो ।

सिंगपुर काठमाडौं उपत्यकाभन्दा केही ठूलो छ । त्यहाँ वार्षिक दुई करोड पर्यटक पुग्छन् । हङकङ नेपालभन्दा १० गुना सानो छ । त्यहाँको सन् २०१७ को तथ्यांकानुसार छ करोडभन्दा बढी पर्यटक वार्षिकरूपमा जाने गरेका छन् ।

समुद्री पहुँच भएकाले पनि ती मुलुकमा पर्यटक बढेका छन् । तर, नेपालमा त्यो सम्भवना छैन । त्यसैले पर्यटक ल्याउने मुख्य आधार भनेको नै विमानस्थल हो ।

क्यानका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा पनि निजगढ राष्ट्रिय महत्वको विषय भएको बताउनुहुन्छ ।

‘नेपालको आर्थिक समृद्धिको दरिलो आधार पर्यटन नै भएकाले यसको प्रवद्र्धनका लागि विमानस्थल र सुरक्षित उडान जरुरी छ’–उहाँले भन्नुभयो–‘हवाई आवागमन बढाउन सुविधासम्पन्न अन्तर्राष्ट्रिय उडान आवश्यक छ । त्यसैले निजगढको विकल्प छैन ।’

निजगढ विमानस्थलको आवश्यकता किन ?
हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अधिकतम विन्दुमा पुगिसकेको र हाल निर्माणाधीन भैरहवा तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ‘लिमिटेसन’मा छन् ।

निजगढ विमानस्थमात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदन्डअनुरुप पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने र ‘ट्रान्जिट हब’ विमानस्थलको रुपमा समेत सञ्चालन गर्न सकिनेछ ।

विज्ञहरुकाअनुसार विश्वभर ७० देखि ८० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै जाने गरेका छन् ।

निजगढ राजधानी काठमाडौंबाट नजिक छ । अर्कोतर्फ बादल लागेका बेला ‘जिरो भिजिबिलिटी’मा पनि उडान–अवतरण गर्न सकिने नेपालको ‘एअर स्पेस’ बढ्नेछ । दुवैतर्फबाट सहज उडान–अवतरण गर्न सकिन्छ । दुईओटा धावनमार्ग बन्नसक्ने, आपत्कालीन उडान गर्न सकिने सबै हिसाबले उपयोगी छ ।

क्यानका पूर्वमहानिर्देशक देउजाले भन्नुभयो–‘आवश्यकतानुसार जति रुख पर्छ, काट्नुपर्छ । तर, विमानस्थल घटाउने–बढाउने कुरा गरिनुहुन्न । यो आफैंमा अर्थतन्त्रको इन्जिन हो ।’

विमानस्थलको चार किल्ला तोकेको क्षेत्रभित्रका सबै रुख काट्ने भन्ने होइन । धावनमार्गका लागि कति आवश्यक पर्छ, त्यति नै रुख काट्ने हो । सही सूचना सम्प्रेषण हुनुपर्‍यो । बढीमा पाँच लाख, त्यसमा पनि काम लाग्ने ३० प्रतिशतमात्र रुख हुन्छ ।

वन क्षेत्रको कुरा गर्ने हो भने प्रदेश नम्बर–२ को जम्मा भू–भागको विमानस्थलले ओगटेको ०.२ प्रतिशत हो र विमानस्थल सिटीसहित ०.८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको जम्मा भू–भागमध्ये करिब ४४ प्रतिशत वन क्षेत्र छ ।

‘यो ठूलो भिजनरी परियोजना हो । यसले पूरै देशको अर्थतन्त्रलाई नै कायापलट गर्छ । यस्ता विमानस्थल र द्रुतमार्ग नभइकन देशको विकास सम्भव छैन’–उहाँले भन्नुभयो ।

काम अघि बढ्यो
क्यानका महानिर्देशक राजन पोखरेलले विभिन्न बहानमा निजगढ अवरुद्ध गर्न नहुने भन्दै विमानस्थल निर्माणको काम अघि बढ्ने उल्लेख गर्नुभयो ।

‘विमानस्थलका लागि रुख कटान गर्न वन मन्त्रालयलाई पत्राचार गरिएको छ । क्यानले आफ्नो काम अघि बढाउँछ । उठेका सवाललाई किनारा लगाएर जसरी पनि विमानस्थल बन्छ’–उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मापदन्डअनुरुप निजगढ सबै हिसाबले उपयुक्त भएकाले विमानस्थल बनाउन सबै सकारात्मक भएर लाग्नुपर्नेमा उहाँको जोड छ ।

निजगढ विमानस्थलमात्र आइकाओ मापदन्डअनुरुप ट्रान्जिट हबको रुपमा समेत सञ्चालन गर्न सकिनेछ ।

कति रुख काट्नुपर्छ ?
क्यानकाअनुसार विमानस्थलको जम्मा क्षेत्रफल आठ हजार हेक्टरमध्ये निर्माणको पहिलो चरणमा दुई हजार ५०० हेक्टर क्षेत्रफलमा सात लाख रुख काटिनेछन् ।

पर्यटन मन्त्रालयकाअनुसार पहिलो चरणमा पाँच लाख ७५ हजार साना र एक लाख ९४ हजार ठूला रुख काट्नुपर्नेछ ।

वातावरणीय परीक्षण प्रतिवेदनअनुसार उक्त आयोजनाका लागि कुल २४ लाख रुख काट्नुपर्नेछ ।

दोस्रो चरणमा बनाउनुपर्ने अर्को धावनमार्ग र एअरपोर्ट सिटीका लागि आवश्यक उक्त संख्यामा रुख काट्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

निर्माणकार्य द्रुतगतिमा
तिहारलगत्तै विमानस्थल निर्माणको काम द्रुतगतिमा अघि बढ्ने बताइएको थियो । क्यानका निर्देशक इन्जिनियर प्रदीप अधिकारीकाअनुसार वनको काम टुंगो लगाइनेछ भने विमानस्थलको गुरुयोजना बनाइ विस्तृत अध्ययन सुरु गरिनेछ ।

क्यानले नेपाली सेनालाई रुख काट्ने र त्यस वरपरको सडक निर्माणको जिम्मा दिइसकेको छ । करिब ११० बिघा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ ।

विमानस्थलमा पर्ने एक हजार ४७६ घरधुरीको स्थानान्तरण गर्नुपर्नेछ । तीन हजार ६०० मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने छ ।

निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० करोड लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्