छोराको कुटपिटबाट बुवाको मृत्यु « Image Khabar


छोराको कुटपिटबाट बुवाको मृत्यु


रासस
१८ मंसिर २०७७, बिहीबार १५:२४

गोरखा, मंसिर १८ । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।

खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ ।

धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

उहाँलाई स्थानीय जौवारी स्वास्थ्यचौकीमा उपचारका लागि पुर्‍याइएको थियो ।

बाबुछोराबीच के विषयमा विवाद भएको थियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको जनाइएको छ ।

घटनालगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जौबारीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई थप अनुसन्धान शुरु भएको खतिवडाले जानकारी दिनुभयो ।

शव गोरखा अस्पतालमा परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्