२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त, विदेश पलायनदेखि फौजदारी अभियोगसम्म « Image Khabar


२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त, विदेश पलायनदेखि फौजदारी अभियोगसम्म


Imagekhabar
१८ मंसिर २०७७, बिहीबार १०:४३

काठमाडौं । विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ ।

यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ ।

गत निर्वाचनमा निर्वाचित मकवानपुरको भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् ।

घिसिङ अमेरिका गएपछि उनको स्थान २०७६ भदौदेखि रिक्त छ । यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ५ का वडाअध्यक्ष बमबहादुर घले वडाअध्यक्ष पद त्यागेर जागिर खान भन्दै कोरिया गएका छन् ।

वडाअध्यक्ष नै कोरिया गएपछि २०७५ मंसिरदेखि खाँदबारी नगरपालिका वडा नं. ५ का वडावासी नेतृत्वविहीन छन् । सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् ।

प्रदेश–१ को सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।

संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् ।

लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । प्रदेश–१ का चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ । प्रदेश दुईको सप्तरीमा तीन वडा अध्यक्ष र रौतहटमा एक वडाअध्यक्ष पद रिक्त छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई दुई जिल्लाका दुई–दुई स्थानीय तहमा दुई–दुई वडाध्यक्षको पद खाली छ ।

प्रतिक्रिया दिनुहोस्