
काठमाडौं, साउन १९ । सत्तारुढ र विपक्षी दलहरुबीच सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने विषयमा कुरा नमिल्दा स्थगित संसद भोलि पनि खुल्ने सम्भावना कम देखिएको छ ।
सर्वदलीय बैठक गरी सहमतिको प्रयास गर्ने भन्दै यसअघि बिहिबारको बैठक सोमबार बस्ने गरी सूचना टाँस गरेर स्थगित गरिएको थियो । तर त्यसयता अहिलेसम्म सर्वदलीय बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले विप्लव माओवादीका इन्चार्ज कुमार पौडेल र सर्वसाधारण सरोजनारायण मृत्युबारे छनबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठाउँदै संसद अवरुद्ध गर्दै आएका छन् । तर सो घटनामा छानबिन गर्न समिति बनाउन सत्तारुढ नेकपाले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री केपी ओलीसम्म नै यसबारे कुरा पुगे पनि उनले खासै वास्ता नगरेको बताइन्छ । प्रधानमन्त्री ओली संसद अवरुद्ध भइरहँदा उपचारका लागि सिंगापुर गएका छन् ।
आफुहरुले उठाएको विषयमा कुनै पनि सहमति नभएको भन्दै भोलिको बैठक पनि अवरुद्ध गर्ने तयारीमा कांग्रेस छ । कांग्रेस र राजापाले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा बैठकमा उपस्थित हुन भनेका छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण आफुहरुले उठाएको विषय सम्बोधन हुने अवस्था नबन्दासम्म संसद अवरुद्ध जारी रहने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्