Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


प्रहरी हत्याको आरोपमा पक्राउ परेका आठजना जेल चलान


0
Shares

कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै आठजना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरीजवान साउद बेपत्ता भएका थिए ।

विकको विभत्स हत्या गरेको अवस्थामा कात्तिक २ गते मोहना नदीमा शव भेटिएको थियो । त्यसको दुई दिनपछि साउदको शव पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेलापरेको थियो ।

पक्राउ परेकाहरुले तस्करीको मटरमा अवरोध पुर्‍याएपछि घरेलु हतियारको प्रयोग गरी प्रहरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताउँदै आएको छ ।

सोही हत्याकान्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी भने धरौटीमा छुटेका छन् ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजीव गुप्ता एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

गुप्ता धरौटी रकम बुझाएर तारेखमा छुटेका उहाँले बताउनुभयो ।