सडक विस्तारको काम छाडेर मजदुरहरु आन्दोलनमा « Image Khabar


सडक विस्तारको काम छाडेर मजदुरहरु आन्दोलनमा


Imagekhabar
१६ मंसिर २०७७, मंगलवार १०:५२

नवलपुर । नेपालको श्रम ऐनलाई बेवास्ता गरी आफूहरुलाई काममा खटाएको भन्दै नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।

व्यवस्थापन पक्षले श्रम ऐनमा उल्लेख भएका कुनै पनि सर्तहरु लागु नगराई सडक आयोजनाको काममा खटाएको भन्दै मजदुरहरु चार दिनदेखि सडक आयोजनाको काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

दुई सय भन्दा बढी मजदुरहरु आन्दोलनमा उत्रिँदा आयोजनाको काम नै अलपत्र बनेको छ । सडक आयोजना अन्तरगत गैंडाकोटदेखि पश्चिम क्षेत्र दाउन्नेसम्मका मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले देवचुलीको रजहरमा रहेको नारायणगढ–बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्ना दिएर बसेका छन् ।

मजदुरहरुलाई कुनै श्रम सम्झौता नै नगराई काममा लगाएको, दुर्घटना बिमा पनि नगराएको, समयमा तलब नदिएको, बिना कारण कामबाट निकालिएको भन्दै आफूहरुले धर्ना दिएको अखिल नेपाल निर्माण मजदुर संघ इकाइ समितिका अध्यक्ष बँसु गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्