
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।
शनिबार एक विज्ञप्तिमार्फत् प्रमुख प्रतिपक्ष दल कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ अभिव्यत्ति दिँदै आउनुभएका प्रधानमन्त्री ओलीलाई सो आग्रह गरेको हो ।
‘वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरी आएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको’ कांग्रेसको भनाइ छ ।
पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमध्ये नेपालमा धेरै भ्रष्टाचार बढ्नु दुःखद् भएको र भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा आउनु देशकै लागि लज्जास्पद रहेको कांग्रेसको ठहर छ ।
‘वाइडबडी’, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कारबाहीका लागि कांग्रेसले विगतदेखि नै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको’ पनि विज्ञप्तिमा उल्लेख छ ।
‘भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ’ भनेर अभिव्यक्ति दिने अनि भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिएको’ कांग्रेसले आरोप लागाएको छ ।
भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिने कांग्रेसको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्