Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


स्मिथले गरे अष्ट्रेलियाको उद्धार


0
Shares

काठमाडौं, साउन १७ । विश्व टेस्ट क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेज शृंखलासँगै विश्व टेस्ट च्याम्पियनसिपको औपचारिक सुरुआत भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्व टेस्ट च्याम्पियनसिपलाई टेस्ट क्रिकेटको विश्वकपकारुपमा व्याख्या गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्घममा बिहीबार सुरु भएको एसेज शृंखलाको पहिलो टेस्ट नै विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेल बनेको छ ।

शृंखलाको पहिलो टेस्टको पहिलो दिन अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले टोलीको उद्धार गरेका छन् ।

स्मिथले १४४ रन बनाएपछि अष्ट्रेलियाले ‘अलआउट’ हुनुपूर्व २८४ रनको सम्मानित योगफल खडा गर्‍यो ।

कुनै समय १२२ रन जोड्दा ८ विकेट गुमाइसकेको अष्ट्रेलियाका लागि स्मिथले जिम्मेवार पारी खेले ।

स्मिथले २१९ बलको सामना गर्दै सो योगदान गरेका हुन् । जसमा १६ चौका र दुई छक्कासमेत सामेल थियो ।

यस्तै, पिटर सिडलले ४४ र ट्रभिस हेडले ३५ रन जोडे । अरु खेलाडी सस्तैमा पवेलियन फर्किए ।

बल ‘टेम्परिङ’ प्रकरणपछि एक वर्षको प्रतिबन्ध झेलेर टिममा पुनरागमन गरेपछि स्मिथको यो पहिलो टेस्ट खेल हो ।

बलिङतर्फ घरेलु टोली इंग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक ५ विकेट लिए ।

एसेज शृंखलाको यो संस्करणमा इंग्ल्यान्ड र अष्ट्रेलियाले पाँच टेस्ट म्याच खेल्दैछन् । यी सबै खेल विश्व टेस्ट च्याम्पियनसिपका हुनेछन् ।

९ राष्ट्रबीचको टेस्ट च्याम्पियनसिपमा भारत, पाकिस्तान, बंगलादेश, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज पनि सहभागी छन् । यी राष्ट्रबीच दुई वर्षसम्म २७ शृंखलामा कुल ७१ टेस्ट खेल हुनेछ । हरेक खेल जित्ने र बराबरी खेल्ने टिमले अंक प्राप्त गर्नेछन् ।

सोही अंकका आधारमा तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीले २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल्नेछन् ।