मुख्य राजमार्गका सडकमा आवधिक मर्मत गरिने « Image Khabar


मुख्य राजमार्गका सडकमा आवधिक मर्मत गरिने


Imagekhabar
१२ मंसिर २०७७, शुक्रबार १६:५२

काठमाडौं, मंसिर १२ । सडक विभागले देशभरका मुख्य राजमार्गमा ३ हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडकमा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ ।

सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएका मर्मत चाहिने सडक छनोट गरिनेछ ।

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो ।

सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताउनुभयो ।

सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ ।

कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो ।

अहिले मर्मत गर्न लागिएकामा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् ।

गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ ।

यसको लागत झण्डै ८ अर्ब रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्