२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सभामुख महराले डाके सर्वदलीय बैठक


0
Shares

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाको अवरोधपछि लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुखले अग्रसरता लिएका हुन् ।

सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ ।

आज २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको हो ।

संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको छ ।

सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदनमा अवरोध गरेका थिए ।

प्रमुख विपक्षी दल काँग्रेसले विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरसम्बन्धी घटना छानबिनको लागि संसदिय समिति बनाउन माग गरिरहेको छ ।

सत्तारुढ नेकपा यो मागमा सहमत छैन । सभामुख महराले भने मध्यमार्गी विकल्पको रुपमा उक्त विषयको क्षेत्राधिकार रहेको प्रतिनिधिसभाकै समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् ।

दलीय सहमति जुटेमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन पनि सभामुख महरा तयार छन् ।