२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


ओली र प्रचण्डलाई भात खुवाउँदा मैले के अपराध गरें ?: दुर्गा प्रसाईं (हेर्नुहोस भिडियो)


0
Shares

सामाजिक संजालमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै बसेर व्यवसायी दुर्गा प्रसाईंले खाना खाइरहेको तस्विर भाइरल भयो । जसलाई ‘मार्सी चामलको भात’ खाइरहेको भनेर सामाजिक संजालहरुमा टिकाटिप्पणीहरु भए ।

वास्तवमा मुलुकका विशिष्ट व्यक्तिहरुसँगै बसेर खाना खाने र खुवाउने अवसर प्रसाईले कसरी प्राप्त गरे भन्ने प्रश्न सबैतिर फैलियो । कतिपयले अध्यक्ष प्रचण्डसँग प्रसाईंको व्यावसायिक साँठगाँठ पनि रहेको भनेर अडकलबाजी गरिरहेका छन् । वास्तवमा अध्यक्ष ओली र प्रचण्डसँग व्यवसायी प्रसाईंको सम्बन्ध कसरी जोडियो भन्ने बारे र अन्य समसायिक विषयमा इमेज च्यानलका लागि जगदिश खरेलले गरेको कुराकानी:

तपाईं दिनैपिछे मार्सी चामलकै भात खानुहुन्छ ?

होइन, मार्सी चामलको कुरा गर्दा मैले दुःखका साथ भन्नुपर्छ म आफैं क्यान्सरको रोगी हुँ । मेरो अप्रेसन गर्दा जुम्लाका साथीहरुले राम्रो अर्गानिक चामल खानुहोस भनेर ५ किलो ल्याइदिएका थिए । मैले एकछाक मात्र खाएँ । खासै मिठो पनि हुँदोरहेनछ ।

दुई विशिष्ट व्यक्तीहरु बोलाएको बेलामा यस्तो भात खान उहाँहरुले नै इच्छा गर्नुभएको हो ?

होइन । त्यो चामल त्यतिकै रहिरहेको थियो । उहाँहरु आइरहेका बेलामा जुम्लाको चामलको भात खाऔं न त भनेर पकाउन लगाएको हो । हामीलाई त्यो मार्सी चामल भनेर नि थाहा थिएन । जुम्लाको चामल भनेर बुझेका थियौं ।

दाल भात र तरकारी सादा भात हिन्दु संस्कार अनुसार पाहुना आउँदा खेरी राम्रो खुवाउनु पर्छ भनेर सम्मान मात्र गरेको हुँ । ड्राइभरले यसै सामान्य रुपमा लिएर फोटो खिचेर फेसबुकमा हालेछन् । म त देश विखन्डन हुनुहुँदैन, देश जोडिनुपर्छ त्यसका लागि दुई नेता एक हुनुहुन्छ भने मैले भूमिका निर्वाह गरेर घरमा सम्मान गरेको हुँ ।

त्यो दिन ऐतिहासिक दिन थियो, दुई पार्टीबीच ३ बुदें सहमति पनि भएको थियो ।  कति रक्सी खाँएका मान्छेहरुको तस्विर भाइरल हुँदैन तर मेरो घरमा बसेर खाना खाँदा अनुचित तरिकाले तस्विरलाई भाइरल बनाइएको हो ।

प्रमुख कुरो चाहीं यति विशिष्ट ब्यक्तिहरुसँग तपाईंको सम्बन्ध चाहिं कसरी विस्तार हुनुपुग्यो ?

प्रधानमन्त्री ओली मेरो बुबाको मामा हो उहाँ । उहाँले नाता खुलाउनु भयो ‘मेरो नाती’ भनेर ।अध्यक्ष दाहालसँग म २०६२ सालदेखि नै नजिक छु । मेरो अध्यक्ष हो उहाँ । पारिवारिक सम्बन्ध छ । उहाँहरुले म प्रति सहानुभूति प्रकट गर्नुहुन्छ । किनकी मेरो घरमा बसेर गरेका बार्ताहरु सकरात्मक भएका छन् । मेरो इमान्दारिता र सफलतालाई उहाँहरुले प्रस्रशा गर्नुहुन्छ ।

तस्विर भाइरल भएपछि उहाँहरुले तपाईलाई केही भन्नुभएन ? 

केही भन्नुभएको छैन । उहाँ(प्रचण्ड) एकदिन हाँस्नुभो । फोटो भाइरल भयो है ? भनेर सोध्नुभयो । भाइरल नभएको हुन्थ्यो भन्ने उहाँको इच्छा थियो । प्रधानमन्त्री ओलीले चाहीं केही भन्नुभएको छैन । 

प्रचण्डका लागि तपाई नै किन घनिष्ट हुनपुग्नुभयो, तपाई मात्र किन प्रिय ?

म मात्र प्रिय होइन । देशभरका जनता उहाँका प्रिय छन् । नेपाल नै प्रिय छ, म त्यसभित्रको पात्र मात्र हुँ । सामाजिक संजालमा आएपछि मात्र मेरो कुरा भएको हो । 

तपाईका कारणले सरकार आलोचित चाहीं भयो है ?

कसरी मेरो कारणले आलोचित भयो ? वार्ता गराउनु मैले अपराध भयो ? मेरो घरमा वार्ताका लागि सहज वातावरण बनाउनु मेरो अपराध भयो ? अनि मैले खाना खुवाउनु पनि अपराध भयो ? मैले अस्पताल खोलेर के अपराध गरें ? नेपालमा धेरै हावा गफ गर्छन । अरुको पछि लागेर कुरा मात्र काटछन् ।