Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


विश्वकप छनोट फुटबलका घरेलु मैदानमा हुने खेल कुवेतमा गर्ने एन्फाको निर्णय


0
Shares

काठमाडौं, साउन १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय खेल खेल्ने मैदान नभएका कारण नेपालले घरेलु मैदानमा खेल्ने सन् २०२२ को विश्वकप छनोट फुटबलका खेलहरु कहाँ खेलाउने भन्नेमा समस्या भएको छ ।

एन्फाले तत्काल दशरथ रंगशाला बन्ने अवस्था नरहेको सन्दर्भमा घरेलु मैदानमा हुनुपर्ने सुरुआतका ‘होम’ खेलहरु ‘अवे’ खेलकारुपमा परिणत गर्न पहल गर्ने जनाएको छ ।

एन्फाको मंगलबार राजधानीमा बसेको आपत्कालीन समितिको बैठकले सो निर्णय गर्दै एसियाली फुटबल महासंघ (एएफसी)सित स्वीकृति लिइ सम्बन्धित राष्ट्रहरुसँग पहल गर्ने बताएको छ ।

त्यसपछि नेपालमै खेल्नुपर्ने खेलहरु कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमै खेल्ने निर्णय एन्फाले गरेको छ ।

नेपालले पहिलो खेल कुवेतमा आउँदो भदौ १९ गते खेल्नेछ ।

वि.सं. २०७२ सालको भूकम्पले थलिएको दशरथ रंगशाला समयमै पुनःनिर्माण गर्न सरकारले चासो नदेखाएपछि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा आलोचना खेप्नुपरेको छ ।

त्यस्तै, एन्फाले एएफसीको स्वीकृतिमा विभिन्न पदपूर्ति गर्नेक्रममा टेक्निकल डाइरेक्टर अष्ट्रेलियाका गेरी फिलिप्सलाई, हेड अफ कोचेज एजुकेसन पदमा सन्जित सिंहलाई, हेड अफ इलिट एन्ड युथ पदमा नवीन महर्जनलाई र हेड अफ वुमेन्स पदमा हरि खड्कालाई नियुक्त गरेको छ ।

एन्फाको आपत्कालीन बैठकले विभिन्न ११ ओटा निर्णय गरेको जनाइएको छ ।