नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणको तयारी पूरा, होटललाई गरियो ‘आइसोलेट’ « Image Khabar


नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणको तयारी पूरा, होटललाई गरियो ‘आइसोलेट’


इमेजखबर
८ मंसिर २०७७, सोमबार १९:५१

काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ ।

बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा ‘ग्राउन्ड स्टाफ’को मंगलबार ‘पीसीआर’ परीक्षण गरिनेछ ।

पीसीआर परीक्षणमा ‘नेगेटिभ रिपोर्ट’ आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटलमा राखिनेछ भने ग्राउन्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।

ग्राउन्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउ–जाउका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ ।

क्यान सदस्य दुर्गाराज पाठकले ‘क्लोज क्याम्प’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

खेलाडीहरुलाई राख्नका लागि होटल पनि ‘आइसोलेट’ गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उहाँले बताउनुभयो ।

यस्तै, स्वास्थ्य मापदन्डका कुराहरुमा क्यान संवेदनशील रहेको भन्दै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्