Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना जग्गा नपाउंदा अन्योलमा


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाका रुपमा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्य जग्गा नपाउंदा अल्मलिएको छ ।

गत वर्ष प्रदेश र केन्द्र सरकारले रंगशाला निर्माणका लागि १८ करोड विनियोजन गरे पनि जग्गाको अभावका कारण काम अगाडि बढ्न नसकेको हो ।

सुदूरपश्चिममा राष्ट्रिय स्तरका प्रतियोगिता हुन थालेसँगै क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ ।

जिल्ला खेलकूद विकास समिति कैलालीले फाप्ला क्रिकेट मैदानमा केही लगानी गरेर प्रतियोगिता गर्न सकिने मैदान तयार भएको थियो ।

केन्द्र र प्रदेश सरकारको योजनामा सोही मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा परिणत गर्ने भनिएपछि  खेलप्रेमी उत्साहित बनेका थिए ।

तर जग्गाको उपलब्धता हुन नसक्दा विनियोजित बजेट पनि त्यत्तिकै थन्किएर बसेको छ ।

बजेट विनियोजन गरेर मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले रंगशाला निर्माणमा  थप चासो दिनुपर्ने जिल्ला खेलकूद समिति कैलालीका अध्यक्ष दीपक सिंहको धारणा छ ।

धनगढी क्रिकेट एकेडेमीले ड्रिम फाप्ला बनाएसँगै धनगढी प्रिमियर लिगंको तेस्रो संस्करण  फाप्ला क्रिकेट मैदानमै सम्पन्न गरेको छ ।

निर्माण कार्यमा सरकारलाई दबाब दिने उद्देश्यले लिगबाट बचेको केही रकम फाप्ला रंगशालाका लागि छुट्याइएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही बताउँछन् । 

उता, सामाजिक विकास मन्त्रालयका उपसचिव झङ्कर विष्टले जग्गा प्राप्तिका लागि संघीय सरकारसँग पहल गरिरहेको दाबी गर्छन ।

जग्गाकै विषयमा अलमलिएर यति ठूलो आयोजनालाई गतिहीन बनाउनुहुन्न ।

उत्पन्न समस्यालाई यथाशक्य छिटो हल गरेर रंगशाला निर्माणको कामलाई अगाडि बढाउन आवश्यक  छ ।