केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली « Image Khabar


केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली


सन्तोष पुर्कुटी (इमेज)
८ मंसिर २०७७, सोमबार १४:३८

ताप्लेजुङ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो ।

सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भएको भन्दै सरकार परिवर्तनको हल्ला निराधार भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेकाले सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने पनि बताउनुभयो ।

घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगम हुनेगरी विकासका योजनाहरु सञ्चालन गरिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।

स्थानीयले भने कञ्चनजंघाको प्रवेशद्वारका रुपमा रहेको घुन्सालाई नमुना गाउँको रुपमा विकास गर्न माग गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्नुभयो ।

प्रधानमन्त्रीसँगै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत घुन्सा पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्