आयल निगम देशैभर पूर्वाधार विस्तारमा, आइतबार कैलालीको गोदावरी पुग्यो अध्ययन टोली « Image Khabar


आयल निगम देशैभर पूर्वाधार विस्तारमा, आइतबार कैलालीको गोदावरी पुग्यो अध्ययन टोली


Imagekhabar
८ मंसिर २०७७, सोमबार ०९:५१

काठमाडौं । नेपाल आयल निगमले पूर्वाधार विस्तारको काम तिब्र रुपमा अघि बढाएको छ ।

निगमले पछिल्लो समय देशैभर इन्धन भण्डारण गृह र ग्यास भण्डारण प्लान्टसहित अन्तर्देशीय पेट्रोलियम पाइलाइन र पेपरलेस आयल निगमसहित आफ्नै केन्द्रिय कार्यालय भवन निर्माणको काम अघि बढाएको हो ।

गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी निर्माण अघि बढाएको छ भने आइतबार मात्रै कैलालीको गोदावरीमा इन्धन भण्डारका लागि एक टोलीले जग्गा अवलोकन भ्रमण गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, निगमका सुदुरपश्चिम प्रादेशीक कार्यालय प्रमुख, शिवशक्ती महिला सामूदायिक बनका प्रतिनिधिलगायतको टोलीले ३० विघा जमिनको अवलोकन गरेको हो । सामूदायिक बनको उक्त जमिनमा इन्धन भण्डारका लागि डिपो निर्माण गर्न अध्ययन अघि बढाएको हो ।

आवश्यक पर्ने इन्धन भण्डारण गृह नहुँदा मौज्दात राख्नै मुस्किल हुने, इन्धन अभाव हुनेलगायतका समस्यालाई हल गर्न निगमले प्रादेशीकस्तरमा आफ्नो पूर्वाधार विस्तारमा केन्द्रित हुनुपरेको कार्यकारी निर्देशक पौडेलले जानकारी गराउनुभएको छ ।

निगम इन्धन भण्डार गृहले प्रादेशिक संरचना अनुरूप ६ ठाउँमा इन्धन भण्डार क्षमता विस्तार गर्दै भण्डार गृह निर्माण गर्ने भएको हो । पेट्रोल, डिजेल, ग्यास र हवाई लगायतका इन्धन भण्डार गृह निर्माण गर्न लागेको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्