Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


औंसे किराले सुन्तला सखाप


0
Shares

बागलुङ । बागलुङका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् ।

सुन्तलाबाटै वार्षिक छ लाख आम्दानी गर्दै आउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित मुद्रामा हुनुहुन्छ ।

आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे किराको प्रकोपले झर्न थालिसकेको बताउनुभयो ।

“पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भन्नुभयो, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”

यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन् ।

“बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भन्नुभयो, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो ।”

सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो ।

Skip This