Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


आइसीसीद्वारा टेस्ट च्याम्पियनसिप क्रिकेटको सुरुआत


0
Shares

काठमाडौं, साउन १३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पहिलोपटक विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको आधिकारिक सुरुआत गरेको छ ।

आइसीसीले टेस्ट खेल्ने ९ टिमबीच आउँदो बिहीबारदेखि प्रतियोगिता हुन लागेको जनाएको हो ।

भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इंग्ल्यान्ड, अष्ट्रेलिया, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् ।

दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् ।

एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।

सबैजसो सहभागी राष्ट्रका कप्तानहरुले आफूहरु टेस्ट च्याम्पियनसिपका लागि उत्साही रहेको बताएका छन् ।

टेस्ट च्याम्पियनसिपको पहिलो खेल बिहीबार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच इंग्ल्यान्डको बर्मिङघममा हुनेछ ।