२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘पहिलेका बाघ अहिलेकाभन्दा ठूला र स्वस्थ’


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, साउन १३ । नवौं विश्व बाघ दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो वर्ष ‘पर्यापर्यटन प्रवर्द्धनका लागि बाघ संरक्षण’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस मनाएको हो ।

पछिल्लो तथ्यांककाअनुसार नेपालले बाघ संरक्षणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भारत, भुटान, नेपाललगायत विश्वका बाघ पाइने १३ राष्ट्रको सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने निर्णय गर्‍यो । निर्णयअनुसार नेपालमा पनि बाघको संरक्षण र सम्वर्द्धन हुँदै आएको छ ।

बाघको संख्या दोब्बर बढाउने लक्ष्यमा प्रतिबद्धता जनाउँदाको समयमा नेपालमा जम्मा १२१ ओटा बाघ थिए भने २०१८ को राष्ट्रिय तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँकेमा २१, पर्सामा १८, शुक्लाफाँटामा १६ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ छन् ।

नेपालमा घट्दोक्रममा रहेको बाघको संरक्षण गरी हालको संख्यामा पुर्‍याउनु ठूलो उपलब्धि भएको वन्यजन्तुविज्ञहरुको भनाइ छ ।

यसले लोपोन्मुख वन्यजन्तुका मुद्दाहरुमा नेपाल संवेदनशील रहेको सन्देश अन्तर्राष्ट्रियरुपमा प्रवाह हुने वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसे बताउँछन् ।

नेपाल बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य लिएर अघि बढेको र त्यसमा नेपाल पहिलो हुने सम्भावना प्रबल हुँदै गर्दा यस उपलब्धिको रक्षा गर्नेतर्फ पनि सचेत रहनु आवश्यक रहेको चालिसेको धारणा छ ।

पहिलेका बाघ हालकाभन्दा ठूला र स्वस्थ हुने जानकारी दिँदै उनले बाघको बासस्थान, खानपानलगायतका आधारभूत आवश्यकतातर्फ ध्यान दिनुपर्ने बताए ।

बाघ निकै आकर्षक जनावर भएकाले देशको पर्यापर्यटनमा पनि ठूलो योगदान पुर्‍याउन सक्षम छ ।

साथै, लोपोन्मुख जनावरको संरक्षणअन्तर्गत् गरिएको बाघको संरक्षण आफैंमा पनि महत्वपूर्ण कदम हो ।