काठमाडौं, साउन ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि आवश्यक खरिद प्रक्रिया ‘फास्टट्रयाक’बाट अघि बढाइने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पूर्वाधारका कारणले प्रतियोगिता नरोकिने भन्दै सार्वजनिक खरिद ऐनको समस्यालाई सागको कार्यविधिले सम्बोधन गर्ने बताए ।
सदस्यसचिव सिलवालले प्रतियोगिताका लागि आवश्यक बजेटको अभाव नहुने प्रतिबद्धता जनाउँदै सागका लागि निर्माण गरिएका केही पूर्वाधारलाई दीर्घकालीनरुपमा अघि बढाइने भएकाले बजेट बढ्नसक्ने उल्लेख गरे ।
उनले आउँदो कात्तिक १५ गतेअघि नै दशरथ रंगशाला र पोखरा रंगशाला निर्माण हुने भन्दै समयमै निर्माण सम्पन्न नभए वैकल्पिक मैदानकोसमेत व्यवस्था गरिएको जानकारी गराए ।
१३औं संस्करणको साग आउँदो मंसिर १५ देखि २५ गतेसम्म नेपालमा हुँदैछ ।








प्रतिक्रिया दिनुहोस्