
-सन्दीप पौड्याल/ईमेज
काठमाडौं । रुख रोपौं, वातावरण जोगाऔं भन्ने नारासहित काठमाडौंको कुपण्डोलस्थित बागमती पुल करिडोरमा बृक्षारोपण गरिएको छ ।
लाइन्स क्लव अफ काठमाडौं साम्बला र स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलको आयोजनामा शनिबार बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
लाइन्स क्लव अफ काठमाडौं साम्बलाका अध्यक्ष राजकुमार थापा, स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलका अध्यक्ष राजीव पौड्याल, ३२५ ए वानका निर्वतमान गर्भनर लायन्स अनन्त प्रसाद भेटवाल तथा द्धितिय गर्भनर लायन्स रेवत बहादुर कार्कीले संयुक्त रुपमा विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा लाइन्स क्लव अफ युनाइटेले पनि सहभागीता जनाएको थियो । युनाइटेडका अध्यक्षसहितका पदाधिकारी र स्थानीयले समेत बृक्षारोपण कार्यक्रममा साथ दिएका थिए ।
बाग्मति खोला परिसरमा अतिक्रमण र फोहर बढ्दै जाँदा यस्को संरक्षण गर्ने उदेश्यले नै कार्यक्रमको आयोजना गरिएको साम्बलाका अध्यक्ष राजकुमार थापाले बताए ।
उनले बाग्मतिसहित राजधानीका अन्य स्थानमा रहेका खोलाहरुमा समेत क्रमश यो अभियानलाई निरन्तरता दिने बताए ।
यता, स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलका अध्यक्ष राजीव पौड्यालले खोला क्षेत्रको खाली जग्गामा क्रमश बृक्षारोपण गर्दै लैजाने र हरियाली बढाउने बताए । यसको रेखदेख पनि क्लवले नै गर्ने उनले बताए ।
कार्यक्रममा बिभिन्न जातका एक सय भन्दा बढी विरुवा रोपिएको थियो ।
यस अघि पनि बिभिन्न संघसंस्थाले बाग्मति करिडोरमा वृक्षारोपण गर्दै आईरहेका छन् । जसले पछिल्लो समय खोला किनार सफा र हरियाली देखिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्