अमेरिकामा धुमधाम मनाइयो तिहार, भर्चुअलमार्फत खेलियो देउसीभैलो « Image Khabar


अमेरिकामा धुमधाम मनाइयो तिहार, भर्चुअलमार्फत खेलियो देउसीभैलो


जिएनएन
२ मंसिर २०७७, मंगलवार ०७:२१

न्यूयोर्क(जिएनएन) कोरोना महामारीको महा(प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यमपञ्चकको पाँचौं दिन चाड भाइटीका मनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यहरुमा नेपालीहरुले बिगत बर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न अवसर पाएनन् । तथापी सिमित परिवार ,सुरक्षित हुदै स्वास्थ्यलाई ध्यान दिंदै अमेरिकाका विभिन्न राज्यहरुमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकोले अमेरिकामा बसोबास गर्ने नेपाली अधिकांशले ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका ग्रहण गरेका छन ।

अमेरिकामा सोमबार कामको दिन यमपञ्चकको पाँचौ दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेलहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाई रहेका छन । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएकोले यसैगरि टीका ग्रहण गरेका छन ।

नेपालमा जस्तैगरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई पनि पहिलो पुस्ताले यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउँदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउँदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरु र आफ्ना सन्तानलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् ।

दोश्रो पुस्ताले देउसी र भैलो मज्जाले खेलेका छन् । यस पटक अत्याधिक रुपमा परोक्ष(भर्चुअल)मार्फत गीत ,नृत्य,कविता ,आदी इत्यादी समेत तिहारमा प्रस्तुत समेत गरेका छन् ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु पाइने हुनाले दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनिहरुले आफै बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्