
काठमाडौं, साउन १० । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा ‘विप्लव’ समूहका युवा संगठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाकाअनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए ।
उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामेराबाट पत्ता लागेको थियो ।
घटनाका दोषीहरुलाई खोज्नेक्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको ‘अपरेसन’बाटसमेत उनी उम्कन सफल भएको थापाले बताए ।
गत साल फागुन १० गते राति भएको बम विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका थिए ।
उक्त घटनामा ८ जनाको संलग्नता रहेकोमा सातजना यसअघि नै पक्राउ परिसकेका छन् ।
विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो ।
त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्