४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


स्कुल बसबाट लागूऔषध र नेपाली नक्कली नोट बरामद


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, साउन १० । कपिलवस्तुमा एउटा नीजि विद्यालयको बसबाट प्रहरीले लागुऔषध र नेपाली नक्कली नोट बरामद गरेको छ ।

शुक्रबार बिहान मायादेवी गाउँपालिका–४ चाकरचौडामा लु१क १५५४ नम्बरको बसमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा लागुऔषध र नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । उक्त बस पिस ग्लोबल इंग्लिश बोर्डिङ स्कूलको रहेको प्रहरीको भनाइ छ ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बस चेकजाँच गर्ने क्रममा बसको टुलबक्सबाट १० पोका खैरो रङको हिरोईनजस्तो देखिने लागुऔषध र नेपाली ५०० दर को एउटै नम्बर (घ ६१/६८१३६३) को ८८ थान नक्कली नेपाली रुपैयाँ बरामद भएको हो ।

चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीप समशेर जबराले जानकारी दिएका छन् ।