आधुनिकताले निलेको उपत्यकाको एउटा परम्पराः चिनियाम्ह किसि • Image Khabar Image Khabar


आधुनिकताले निलेको उपत्यकाको एउटा परम्पराः चिनियाम्ह किसि


नरेन्द्र मानन्धर
२९ कार्तिक २०७७, शनिबार ११:०७

Tradition of valley kathmandu tihar laxmi puja chiniyamh kisi

काठमाडौं, कात्तिक २९ ।

एकाविहानै ऐतिहासिक असं बजारमा स्वन्ति नखः यमपञ्चकको लागि किनमेलका लागि गएको थिएँ ।

बलाछी चोकका ७४ वर्षीय कृष्णप्रसाद मानन्धरसँग भेट भयो । मानन्धर धनलक्ष्मीको पूजाको लागि चिनियाम्ह किसि अर्थात चिनीबाट बनाइएको हात्ती र अन्य मूर्ति किन्न आउनु भएको रहेछ ।

असन बजारको कुना कुनासम्म पनि उहाँले यस वर्ष चिनियाम्ह किसि फेला पार्न सक्नुभएन । पूजाका लागि र आफनो पाँच बर्षीय नातिको खुशीको लागि चिनियाम्ह किसि किन्न आएको उहाँ बताउँदै हुनुहुन्थ्यो ।

मलाई पनि जिज्ञासा लाग्यो र सोधे यसको के महत्व छ ?

उहाँले भन्नुभयो, चिनियाम्ह किसि चिनीबाट बनाएको धनलक्ष्मी, धन कुबेर, सेतो ख्याक, हात्ती, मयुर, घोडा, कछुवालगायतको मूर्ति लक्ष्मी पूजामा चाहिन्छ । साथै ज्वल न्हयाकं (दर्पण), सिन्ह मू (सिन्दुर दानी) चाहिन्छ । आवश्यकता अनुसार विभिन्न मूर्ति बनाइन्छ, उहाँ भन्नुहुन्छ, ‘तर अहिलेको पुस्ताले यो सबै बिर्सिसकेको छ ।’

आधुनिकताले निलेको उपत्यकाको  एउटा परम्पराः चिनियाम्ह किसि

हुन त हामीले पनि विगतमा यसरी नै पूजा गर्थ्यौं, तर थाहा नै नपाई यो प्रचलन रोकिएछ । म झसंग भएँ ।

खोज्न भन्दै म पनि बजार लागें कहिं फेला परेन ।

काठमाडौंको मरु गणेशस्थान, किलागल, इन्द्रचोक, असन, त्यौड र नक्साल भगवती सबैतिर चहार्दा पनि फेला परेन । विगतमा यस्तो मूर्ति बनाउनेहरु सँग भने सम्पर्क भयो ।

सिघ विहार खिलंका ६८ वर्षीय रत्न श्रेष्ठले चिनीका मूर्तिहरु नबिकेको कारण केही वर्ष अगाडिदेखि नै यो पुर्ख्यौली पेशा छोडेको बताउनुभयो ।

बजारमा विदेशबाट आयातित अन्य वस्तुले ठाउँ लिएपछि उक्त परम्परागत पेशा छाडेर चिनीको मूर्ति बनाउने साँचो समेत अरुलाई दिएर पठाइसकेको उहाँले बताउनुभयो ।

आधुनिकताले निलेको उपत्यकाको  एउटा परम्पराः चिनियाम्ह किसि

असं बजार कै ७० वर्षीय उद्योगी रत्न तुलाधरले आफनो बाल्यकालको अनुभव सुनाउँदै चिनियाम्ह किसि बाल्यकालको मनोरञ्जन र खेल सामग्री भएको बताउनुभयो ।

‘लक्ष्मी पूजामा त्यस बेलाको शहर बजार तेलको दियोले झिलिमिली हुन्थ्यो र चिनीबाट बनाएका सुकुन्दामा समेत बत्ती बालेर बालबालिकाहरु रमाईलो गर्दथे र हात्ती, मयुर, घोडा, कछुवालगायत खेलौनाको रुपमा प्रयोग हुने गर्दथ्यो’, पुराना सम्झना कोट्याउँदै उहाँ भन्नुहुन्छ ।

भाइटीकामा दिदीले उपहारस्वरुप सोही मूर्ति दिने गरेको र यसैका कारण दाजुभाइमा रमाईलोका साथसाथै कहिलेकाहीँ सामान्य झगडा पनि हुने गरेको उहाँ बताउनुहुन्छ ।

तर हाल यो प्रचलन हराएकोमा उहाँ दुःखी हुनु भयो ।

आधुनिकताले निलेको उपत्यकाको  एउटा परम्पराः चिनियाम्ह किसि

सबै विदेशबाट आयातित वस्तुले अतिक्रमण गर्‍यो, यस्तै हो भने भविष्यमा हाम्रो मौलिक प्रचलनहरु हराउँदै जानेमा उहाँको दुःखेसो छ ।

कालिमाटी मिठाई पसले सुनिलकृष्ण ताम्राकारले हाल नचलेको कारण यस्तो चिनीको मूर्तिहरु नबनाएको बताउनु भयो । मूर्ति बनाउने आफुसँग भएको साँचो देखाउँदै उहाँले माग भए बनाउन सकिने बताउनुभयो ।

बाजेको पालादेखि यो साँचो रहेकाले यो प्रचलनलाई ब्युँताउने हो भने तयार रहेको उहाँको भनाइ छ ।

वरिष्ठ संस्कृतिविद् प्रा.डा मिलनरत्न शाक्यले चिनियाम्ह किसि विगतमा प्रचलनमा रहे पनि लक्ष्मी पूजा र भाइटीकामा भने अनिवार्य नभएको बताउनु भयो ।

चिनीको मूर्तिभन्दा पहिले चामलको पिठोबाट मूर्ति बनाएर पूजा गर्ने चलन रहेको पनि उहाँको भनाइ छ । चिनी मूर्ति बनाउने चिनियाम्ह किसि पछि मात्र नेपालमण्डलमा इनोभेसन (नवप्रवर्तन) भएको उहाँले बताउनु भयो ।

एक किलोसम्मको लक्ष्मी लगायतका चिनीका मूर्तिहरु आफुले विगतमा देखेको उहाँले बताउनु भयो ।

जे भए पनि यो नेपालमण्डलको एउटा मौलिक प्रचलन हो जुन अहिले प्रायः लोप भइसकेको छ । अर्को पुस्तालाई यो प्रचलन हतान्तरण गर्ने हो भने यसलाई ब्युँताउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्