
काठमाडौं, साउन ९ । सर्वोच्च अदालतले सुडान घोटालाकान्डमा भ्रष्टाचारी ठहर नेपाल प्रहरीका पूर्वप्रमुख रमेशचन्द ठकुरीको निवेदनमा सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
गएको असार १९ गते ‘धरौटीमा कारागारबाहिर बसेर मुद्दा लड्न पाऊँ’ भन्दै दायर निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।
बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले ठकुरीको निवेदनमा थप सुनुवाइका लागि अनुमति दिन अस्वीकार गरेको हो ।
नेपालको भ्रष्टाचारको मुद्दामा सबैभन्दा ठूलो प्रकरणकारुपमा लिइने सुडानकान्डका दोषीमध्येका एक ठकुरी असार १९ गते सर्वोच्चमा उपस्थित भएका थिए ।
सुरक्षाकर्मी साथमै लिएर हिँडे पनि उनी नेपाल प्रहरीको ‘फरार’ सूचीमा थिए ।
सर्वाेच्चले अदालतको फैसलालाई सहयोग नगरेको भन्दै उनलाई थुनामा पठाएको थियो । त्यसपछि उनलाई डिल्लीबजार कारागार लगिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाल प्रहरीका लागि बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।
सुडान घोटालामा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए । ठकुरीबाहेक अरु सबैजनाले पहिले नै कैद भुक्तान गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्