
अपडेट:
कृष्ण बोहोरा (इमेज)
जुम्ला, साउन ३ । अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजानेक्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपकाक्रममा एक प्रहरीलाई गोली लागेको छ ।
गोली लागेका प्रहरी जवान कमल आचार्यको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बिहीबार बिहान डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर आएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए ।
सोहीक्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोलीसमेत चलाएको थियो । प्रहरीले नै चलाएको गोली उनलाई लागेको थियो ।
जुम्लामा २० दिनदेखि अनशनरत् डा. केसीलाई काठमाडौं लैजान सरकारले हेलिकोप्टर पठाएपनि उनी आउन नमानेपछि सरकारले बल प्रयोग गरेको हो । प्रहरीले अस्पतालभित्रै पसेर लाठीचार्ज र गोली चलाएको छ ।
त्यसपछि प्रहरीले डा. केसीलाई जबर्जस्ती अस्पतालबाट निकालेर स्कर्टिङमार्फत् नेपाली सेनाको भगवती दल गणमा लगेको थियो । त्यहाँबाट बिहीबार दिउँसो सेनाको हेलिकोप्टरमार्फत् डा. केसीलाई काठमाडौं लगिएको छ ।
डा. केसीलाई स्कर्टिङमार्फत् लैजानेक्रममा जुम्लाबासीले बाटोमै प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नजाने बताएपछि सरकारले बल प्रयोग गरेको हो ।
यसअघि, बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
अपहरणको शैलीमा डा. केसीलाई काठमाडौं लैजान खोजिएको भन्दै विरोधमा उत्रेकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रतिष्ठानभित्रै पसेर प्रहरीले हस्तक्षेप गर्दा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित दुई दर्जनबढी घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ । केही प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी आक्रमणमा प्रतिष्ठानका सिसा फोडिनुका साथै एक करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्