
काठमाडौं, साउन ८ । गुल्मीको सत्यवती गाउँपालिकास्थित लुम्पेकको पहिरोमा परी घाइते भएका दुई बालिकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा राहत लिएर गएको हेलिकोप्टरमा राखेर स्थानीय १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुलाई थप उपचारका लागि बुधबार काठमाडौं ल्याइएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि बुधबार साँझ महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।
मन्त्री ज्ञवालीले २४ घन्टाको अथक प्रयासमा दुई बालिकाको उद्धार गर्न सफल भएको र सत्यवती गाउँपालिकाको ठूलोलुम्पेकमा राहत सामग्री पुर्याउन सफल भएको जानकारी दिए ।
मन्त्री ज्ञवालीसहितको टोली मंगलबार पहिरो प्रभावित क्षेत्रमा गएको थियो । बुधबार हेलिकोप्टरबाट घाइते दुई बालिकाको उद्धार गरी टोली फर्किएको हो ।
सोक्रममा पहिरो पीडितलई २० क्वीन्टल चालम, दुई क्वीन्टल दाल, एक क्वीन्टल चिउरा तथा चाउचाउसमेत वितरण गरिएको छ ।
उनीहरुलाई अस्थायी बासस्थानका लागि ६० ओटा त्रिपालसमेत वितरण गरिएको संयोजक ज्ञवालीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्