५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


‘कांग्रेस प्रजातान्त्रिक आचरण र मर्यादाबाट विमुख बन्दै’


0
Shares

नवीन शर्मा (इमेज)

काठमाडौं, साउन ८ । विगतमा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको नेपाली कांगे्रस यतिबेला आफैंमा अलमलिरहेकोजस्तो देखिन्छ ।

दशकौंदेखि गुट–उपगुटको संक्रमणबाट गुज्रिएको कांग्रेसले अझैपनि आफ्नो कार्यशैलीमा सुधार गर्न सकेको छैन ।

कांग्रेसभित्र उत्पन्न भएको आन्तरिक द्वन्द्वलाई नेतृत्व तहले व्यवस्थापन गर्न नसक्दा पार्टी र नेतृत्व दुवै आलोचनाको तारो बनेका छन् ।

सधैंभरि प्रजातन्त्रको वकालत गर्दै आएको पार्टीभित्र नै प्रजातान्त्रिक अभ्यास नभएको टिप्पणी स्वयं पार्टीभित्रकै शीर्ष नेताहरुले बेलाबखत दिँदै आएका छन् ।

नेताहरुको ऊर्जा र शक्ति एक–अर्काको तेजोवध गर्नमै सीमित देखिन्छ । अहिले पनि एकथरि नेताले सभापति शेरबहादुर देउवाको नेतृत्व रहेसम्म पार्टी बलियो हुन नसक्ने भन्दै सार्वजनिकरुपमै अभिव्यक्ति दिइरहेका छन् ।

उता, संस्थापन पक्ष भने इतर पक्षबाट सहयोग नपाएको गुनासो गरिरहेको छ ।

पार्टीभित्रै साझा धारणा र एक स्वर बन्न नसक्दा कांग्रेसले सरकारका कतिपय कमजोरीमा खबरदारी गर्न सकिरहेको छैन ।

राजनीतिक विश्लेषक दुर्गा सुवेदी कांग्रेस प्रजातान्त्रिक आचरण र मर्यादाबाट विमुख बन्दै गइरहेको टिप्पणी गर्छन् ।

नेतृत्व कमजोर बन्दा कांग्रेसले आफूले लिनुपर्ने बाटोमा स्पस्ट हुन नसकेको उनको ठम्याइ छ ।

कांग्रेसले देशव्यापी राष्ट्रिय जागरण पनि चलायो । सरकारको खबरदारी र पार्टीभित्रको एकता मजबुत् बनाउने भन्दै सुरु अभियान सहरहरूका पार्टी प्यालेसमा सीमित रह्यो भने विशेषगरी तराई–मधेसका जिल्लामा प्रचन्ड गर्मीको कारण न्यून कार्यक्रम र उपस्थिति रह्यो ।

गुट र उपगुटका कारण विभाजित नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखी विवाद मिलाउन नै हम्मे–हम्मे पर्‍यो ।

जनताको मनमनमा पुग्ने लक्ष्यले अभिप्रेरित राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सोचेअनुसार सफल हुन सकेन ।

स्थानीय तहसम्म अभियानलाई सन्चालन गर्नुअघि पहिला आफैंमा सुधार ल्याउनुपर्ने सुझाव विश्लेषक सुवेदीको छ ।

महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेस नेताहरुको सक्रियता त बढेको छ तर आलोचनाको सिकार आफ्नै सहकर्मी हुने गरेका छन् ।

पार्टीभित्रको बेमेलले कांग्रेसको आन्तरिक जीवन गतिशील हुन सकेको छैन सदनमा पनि उसको प्रभावकारिता खासै अनुभूत हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्