
कन्चनपुर । विकास निर्माण तथा योजना निर्माणमा प्रगति हुन नसक्दा कञ्चनपुरमा १ अरब २५ करोड ४३ लाख ६० हजार ५३३ रुपैयाँ फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७४/७५ का लागि कञ्चनपुरको कुल पूँजीगत बजेट ४ अरब ९५ करोड १ लाख २९ हजार रहेकोमा ४ अरब २६ करोड ९५ लाख ४५ हजार मात्र खर्च भएको छ ।
विकास बजेट मध्ये ६८ करोड ५ लाख ८४ हजार ६६८ रुपैयाँ अर्थात १३ प्रतिशत फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
पुँजीगततर्फको विकास बजेट मध्ये सबैभन्दा बढी पशु क्वारेन्टाइनको ८३, जिल्ला कृषि विकास कार्यालयको ७९ र घरेलु तथा साना उद्योग कार्यालयको ५१ प्रतिशत बजेट फ्रिज भएको हो ।
यसैगरी, जिल्ला समन्वय समितिको ४२, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ४४, महाकाली पुल योजनाको ३१ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २३ प्रतिशत रकम फ्रिज भएको छ ।
यसैगरी, चालु खर्चतर्फ ७ अरब ५८ करोड ५८ लाख १७ हजार मध्ये ७ अरब १ करोड २० लाख ४१ हजार खर्च भएको छ ।
यस्तै, कञ्चनपुर जिल्लाबाट आर्थिक वर्ष २०७४/७५ मा २ अरब ३ करोड ५७ लाख ४२ हजार ५३ रुपैयाँ बराबरको राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा १ अरब ४८ करोड ६६ लाख ५३ हजार ३ सय ५५ राजश्व संकलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्