Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


डोटीमा करदाता सेवा कार्यालय स्थापना


0
Shares

डोटी, कात्तिक २१ । डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको हो ।

कार्यालयले सेवा शुरु गरेपछि कर सम्बन्धि सामान्य कामदेखि व्यक्तिगत स्थायी लेखा नम्बर लिनका लागि यहाँका सेवाग्राहीलाई कैलाली जानुपर्ने बाध्यता पनि हटेको छ ।

कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिन र कर तिर्न अहिले सेवाग्राहीको भीड लाग्न थालेको सिलगढीका स्थानीयबासी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सडक डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हरि शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीका नागरिकलाई जिल्लामै सेवा दिने उद्देश्यले हामीले सिलगढीमा कार्यालय सञ्चालन गरी सेवा दिन शुरु गरेका छौँ, अब कर सम्बन्धि सामान्य कामका लागि कैलाली जानुपर्ने बाध्यता हटेको छ ।”

कार्यालयले व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाता शिक्षालगायत सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

कार्यालयले सेवा शुरु गरेसँगै उक्त कार्यालयबाट पहिलो व्यवसायिक स्थायी लेखा नम्बर दिपायल सिलगढी नगरपालिका–१ गोसेडाकी हरूदेवी साउदले लिनुभएको छ ।

उहाँले कृषि र पशुपन्छी फर्मको नाममा स्थायी लेखा नम्बर लिनुभएको बताइएको छ ।