
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसनिकट नेविसंघका नेताहरुको अगुवाइमा रौतहटको बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
रौतहटको गढीमाई नगरपालिका–३, लक्ष्मीपुरमा उनीहरुले सोमबार दिनभर बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरे ।
३७औं बीपी स्मृति दिवसका अवसर पारेर उनीहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जका ६ जना चिकित्सकहरुको टोली लिएर गएका हुन् ।
अविरल वर्षापछि वाग्मती नदीको पानी पसेर अतिप्रभावित भएको लक्ष्मीपुरका करिब एक हजारजना बढीले सेवा लिएको स्वास्थ्य शिविरका अगुवा तथा नेविसंघका नेता दीपक भट्टराईले जानकारी दिए ।
भट्टराईसहित नेविसंघका नेताहरु मनोजमणि आचार्य, प्रतिमा गौतम, हरिहर शर्मा, उज्वलराज घिमिरे, भोला नेपाल, कल्पना खड्का, पवन नेपालीलगायतको टोली आइतबार साँझ रौतहट पुगेको थियो ।
आफूहरुले सानो भएपनि सेवाभावका दृष्टिले बीपी कोइरालाको स्मरणमा स्वास्थ्य शिविर आयोजना गरेको भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्