उद्योग व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले माग्यो सुझाव • Image Khabar Image Khabar


उद्योग व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले माग्यो सुझाव


Imagekhabar
२० कार्तिक २०७७, बिहीबार ०९:५४

उद्योग व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले माग्यो सुझाव

काठमाडौं । सरकारले कोरोना भाइरस र लकडाउनका कारण धराशयी बनेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन उद्योग व्यवसायीसँग सुझाव माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न प्रश्नावली तयार पारेर लकडाउनले मारमा परेका उद्योगलाई पुनरुत्थान गर्न सुझावका लागि अनलाइन सर्वेक्षण थालेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालभर लकडाउन जारी गरेको थियो ।

त्यसले गर्दा स्वास्थ्य, खाद्यन्न लगायत केही उद्योग व्यवसायबाहेक लगभग सबै प्रकारका उद्योग बन्द भएका थिए ।

यद्यपि सरकारले लकडाउन र निषेधाज्ञा जारी नगर्दा भने उद्योगहरूको उत्पादन क्षमता औसतमा ६० प्रतिशतभन्दा माथि पुगेको छ ।

मन्त्रालयले उद्यम तथा व्यवसायलाई पहिलाकै अवस्थामा सुचारु गर्न सरकारका तर्फबाट उद्योगी व्यवसायीले चाहेको सहयोगका विषयमा पनि उल्लेख गर्न अनुरोध गरेको छ ।

उद्योगलाई प्रवद्र्धन गर्न सरकारले वित्तीय, नीतिगत, सहुलियत तथा अन्य थप के गर्नुपर्छ भन्ने सुझाव माग गरिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रश्नावली भरेर ईमेलमार्फत जानकारी गराउन आग्रह गरेको हो ।

उद्योगी तथा व्यवसायीले पठाएको सूचनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिने मन्त्रालयले जनाएको छ ।

उत्पादन, बजारीकरण र आपूर्ति प्रणालीलाई सुचारु गरी मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्न जरुरी रहेकाले अध्ययन गर्ने उपयुक्त समय भएकाले सर्वेक्षण थालिएको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्