
पाँचथर । दरबन्दीअनुसार चिकित्सक नहुँदा पूर्वी पहाडी जिल्लाका वासिन्दालाई उपचारका लागि तराईका जिल्लामा रहेका महंगा अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।
पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो । पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वाधारको अभाव छ ।
ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ । जिल्ला अस्प्तालप्रति सेवाग्राहीको विश्वास हराउँदै गएको छ ।
सरकारले पाँचथर जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र हेल्थपोस्टमा ४० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि पर्याप्त पाइँदैनन् ।
पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटालगायतका जिल्लामा रहेका सरकारी अस्पतालबाट सामान्यबाहेक सेवा लिन सक्ने अवस्था छैन ।
वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रमा यातायात प्रभावित हुँदा उपचारका लागि निकै कठिनाइ भएको स्थानीयको गुनासो छ ।
इलाममा रहेको ५० शैयाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ । इलाम अस्पतालमा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराईका सेवाग्राही पनि पुग्छन् ।
सामान्य प्रकृतिका बाहेक अन्य रोगको उपचार गर्न नसकिने अवस्था रहेको पाँचथर अस्पतालका सूचना अधिकारी नारायण जोशी बताउँछन् ।
ताप्लेजुङ र तेह्रथुमका जिल्ला अस्पताल मेडिकल अफिसरको भरमा सञ्चालित छन् । दुवै अस्पतालमा डिजिटल एक्सरेलगायतको अभाव छ ।
प्रतिक्रिया दिनुहोस्