Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


‘मानार्थ महारथी पद्वीको परम्परा सच्याउनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दर्ज्यानी लिनका लागि यही कात्तिक १९ गते नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल र भारतले दुवै देशका सेनापतिलाई एकार्काले मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन रहँदै आएको छ ।

विभिन्न सञ्चारमाध्यम र छापाहरुमा सन् १९५० देखि दुवै मुलुकले एकार्का देशका सैन्यप्रमुखलाई मानार्थ महारथीको पद्वी दिँदै आएको उल्लेख गरिएको पाइन्छ ।

तर, सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने वि.सं. २०२० जेठ २५ गते राजा महेन्द्र शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसालाई नेपाली सेनाको मानार्थ महारथी पद्वी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथी पद्वी दिने प्रचलन सुरु भएको बताउनुभएको छ ।

थापाले अहिलेसम्म लिखितरुपमा भेटिएको प्रमाणअनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दर्ज्यानी नै पहिलो भएको बताउनुभयो ।

यस्तै, २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधानसेनापति रहनुभएका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पद्वी दिएको लिखित प्रमाण रहेको पनि बताउनुभयो ।

त्यसपछिमात्रै नियमितरुपमा एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पद्वी दिने प्रचलन बसेको उहाँको भनाइ छ ।