१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


परराष्ट्रमन्त्री ज्ञवालीसहित १४ जनाद्वारा अंगदानको घोषणा


0
Shares

भक्तपुर, साउन ३ । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका छन् ।

शुक्रबार सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अंगदानको घोषणा गरेका हुन् ।

ज्ञवाली दम्पत्तीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो र प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरीनामामा हस्ताक्षर गरे ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत–साधनको सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताए ।

अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउँदै उनले स्वास्थ्य बिमामार्फत् रु एक लाखसम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताए ।

कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान गर्ने कानुनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताए ।

कानुन बनेको दुई वर्षमा तीनजनाबाटमात्रै अंग लिएर ६ जनालाई मिर्गौला, एकजनालाई कलेजो प्रत्यारोपण गरिएको बताए ।

कार्यक्रममा परराष्ट्रमन्त्रीका धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अंग प्रत्यारोप केन्द्रका डा. रविभूषण सुवाललगायत १४ जनाले पनि अंगदानको घोषणा गरेका थिए । रासस